घरमा
साँचो मारी सम्पूर्ण परिवार नै यार्सागुम्बा टिप्न निस्केपछि नागरिकता
टोली डोल्पाको गाउँ नपसेको हो। अन्य जिल्लामा वैशाख पहिलो साताबाटै टोलीले
नागरिकता बाँड्न थाले पनि डोल्पामा अझै दुई महिना यो कार्य हुन नसक्ने गृह
मन्त्रालय स्रोतले बतायो।
'वैशाख पहिलो साताबाटै डोल्पामा
नागरिकता प्रमाणपत्र सुरु गर्नुपर्थ्यो। अहिले हाम्रो टोली पुग्दा गाउँका
प्राय घरमा ताला लागेका छन्,' गृह स्रोतले भन्यो, 'यार्सागुम्बाको सिजन
भएकोले परिवारका सबै सदस्य हप्तौ हिडेर यार्सागुम्बाको खोजीमा निस्केका
छन्।'
यार्सागुम्बा खोज्न निस्केका परिवार डेढदेखि दुई महिनासम्म घर
फर्किदैनन्। आधा जीव र आधा वनस्पतिका रूपमा रहने यार्सागुम्बा वैशाखदेखि
असारसम्म उच्च हिमाली तथा पहाडी जिल्लामा पाइने गर्छ। जेठ यार्सागुम्बा
संकलन गर्ने सबैभन्दा उपयुक्त महिना मानिन्छ। यार्सागुम्बा टिप्ने सिजनमा
डोल्पाका विद्यालय समेत बन्द हुने गर्छन्।
'एकीकृत घुम्ती टोली जान
ढिलाइ भएको पनि हो। डोल्पावासीको प्रमुख आर्थिक स्रोतका रूपमा परिचित
यार्सागुम्बा टिप्ने सिजन सुरु हुनुअघि नै त्यहाँ पुग्नु पर्थ्यो, हुन
सकेन। अब उनीहरू घर फर्किने समय कुर्नुको विकल्प छैन,' गृह स्रोतले भन्यो।
सरकारले
संविधानसभा निर्वाचनलाई लक्षित गरी नागरिकता वितरण गर्न एकीकृत घुम्ती
टोली खटाएको हो। घुम्ती टोलीले नागरिकता प्रमाणपत्र र फोटोसहितको मतदाता
परिचयपत्र बनाउने प्रक्रिया एकसाथ अघि बढाएको हो।
नागरिकता लिनेमा महिला बढी
हालसम्म
एकीकृत घुम्ती टोलीले वितरण गरेको नागरिकताको तथ्यांक अनुसार यसपटक
महिलाको सहभागिता उल्लेख्य रूपमा बढेको मात्र छैन, पुरुषको तुलनामा निकै
माथि पनि छ।
७४ जिल्लाको तथ्यांक अनुसार हालसम्म एक लाख ८१ हजार ६ सय
१७ जनालाई घुम्ती टोलीले नागरिकता बाँडिसकेको छ। वितरण भएकामध्ये नागरिकता
लिने महिलाको संख्या एक लाख एक हजार ९ सय १४ छ। अंगीकृत नागरिकता लिने
(नेपालीसँग बिहे गर्ने विदेशी महिला)लाई समेत जोड्ने हो भने नागरिकता लिने
महिलाको संख्या एक लाख ७ हजार ८ सय ६१ पुग्छ। घुम्ती टोलीसँग नागरिकता लिने
पुरुषको संख्या ७३ हजार ७ सय ५६ छ।
'पुरुषको अनुपातमा नागरिकता लिने
महिला बढी हुने सकारात्मक कुरा हो। घुम्ती शिविरमा नागरिकता प्राप्त गर्न
सजिलो भएकाले पनि महिलाको संख्या बढेको हुनसक्छ,' गृह मन्त्रालयका प्रवक्ता
शंकर कोइरालाले भने।
नागरिकता वितरण भएका ७४ जिल्लामध्ये संखुवासभा,
सर्लाही र बारामा मात्र महिलाको तुलनामा नागरिकता लिनेमा पुरुषको संख्या
बढी छ। कति जिल्लामा त नागरिकता प्रमाणपत्र लिने महिलाको संख्या पुरुषभन्दा
झन्डै दोब्बर छ।
महिलाको संख्या बढी हुनुमा दुई प्रमुख कारण रहेको
गृहको बुझाइ छ। पहिलो, महिलाहरू घरबाट बाहिर कमै निस्कन्छन्, जसको कारण
वर्षौदेखि ठूलो संख्यामा महिलाले नागरिकता लिएका थिएनन्। घुम्ती टोली
घरदैलोमा पुग्दा बनाइहालौं भन्ने भयो।
दोस्रो, संविधानसभा निर्वाचनमा
सहभागी हुन अनिवार्य फोटोसहितको मतदाता परिचय पत्र। यसअघि मतदाता नामावली
भए मात्र पुग्थ्यो। नागरिकताका आधारमा मात्र मतदाता परिचय बनाउन सकिने
प्रावधान भएकाले मतदानको अधिकारबाट बञ्चित नहुन पनि महिलाहरू बढी आएको
हुनसक्ने अनुमान गृहको छ।
यार्सागुम्बा टिप्नू कि नागुरिकता झिक्नू
काठमाडौं - एकीकृत घुम्ती टोलीले देशका ७४
जिल्लामा नागरिकता प्रमाणपत्र वितरण गरिरहेको छ। गृहले कर्णालीको डोल्पामा
भने नागरिकता वितरण गर्न सकेको छैन। कुनै राजनीतिक दलको अवरोधले नभई गृह
मन्त्रालय र निर्वाचन कार्यालयका कर्मचारी सहितको एकीकृत घुम्ती टोली
स्थानीयसम्म पुग्न नसकेर नागरिकता वितरण रोकिएको हो। अधिकांशको घरमा ताला
लागेपछि गृहले तत्काल डोल्पामा नागरिकता वितरण कार्यक्रम स्थगित गरेको छ।


0 comments
Write Down Your Responses